म असफल प्रधानमन्त्री बन्न चाहन्न : भट्टराई

एकीकृत नेकपा माओबादीका उपाध्यक्ष एवं प्रधानमन्त्रीका उमेदवार डा. बाबुराम भट्टराईले आफुलाई असफल प्रधानमन्त्रीको पगरी आइलाग्ने हो कि भन्ने चिन्ता लागेको बताएका छन् ।
प्रधानमन्त्रीको निर्वाचनका लागि आज जारी व्यवस्थापिका संसदको बैठकमा भट्टराईले यसअघिका बहुमतीय सरकार झै आफु पनि असफल हुने हो कि भन्ने चिन्ता कायम रहेपनि त्यस्तो नहुने जिकिर गरे । उनले शान्ति र संविधानको लागि आफु प्रधानमन्त्रीको उमेदवार भएको र आफु निर्वाचित भए आफ्नो कार्यकालमा नै शान्ति प्रकृयाले ठोस निश्कर्ष पाई संविधान पनि बन्ने ठोकुवा गरे ।
तुँवालो हटाउन सबैको हातेमालो जरुरी छ : प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतीय सरकार निर्माण भए पनि देशमा लागेको तुँवालो हटाउन सहमतीय अभ्यास जारी राख्नुको विकल्प नभएको बताएका छन् । व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रचण्डले नचाहँदा नचाहँदै पनि देश फेरि बहुमतीय सरकारको खेलमा गएकोमा चिन्ता व्यक्त गर्दै तुँवालो हटाउन सबैको हातेमालो जरुरी भएको बताए ।
तर पनि डा. बाबुराम भट्टराई जस्तो व्यक्ति प्रधानमन्त्रीमा निर्वाचित हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले भट्टराईमा रहेको क्षमताले देशलाई सहमतीय प्रकृयामै राख्ने विश्वास व्यक्त गरे । संविधानसभाको निर्वाचन पछि संविधानसभामा बहुमतीय सरकार बनाउने र गिराउने खेल हुनु अत्यन्तै दुखद भएको भन्दै प्रचण्डले संविधानसभा संसदीय भासमा जाकिएकोमा चिन्ता व्यक्त गरे ।
नेपालका राजनैतिक पार्टीहरु संविधान निर्माणभन्दा पनि सरकार बनाउने र गिराउने खेलमा लागेको भन्दै प्रचण्डले नयाँ बन्ने सरकारले आफ्नो कार्यकालमा शान्ति र संविधानलाई निश्कर्षमा पुर्याएरै छोड्ने विश्वास पनि व्यक्त गरे । सरकारमा रहने वा नरहने सबै पक्षको सहमती अत्यावश्यक भएको भन्दै उनले शान्ति र संविधानको लागि माओबादी एक ढिक्का भएर आएकोले अरुले पनि त्यसरी नै बुझ्नुपर्ने बताए । लोकतान्त्रिक विधि अनुसार बहुमतीय सरकार बनेपनि मुख्य दलहरुबीच सहमति अपरिहार्य रहेकोमा प्रचण्डले जोड दिएका थिए ।
आज प्रधानमन्त्रीको निर्वाचन, आजै देशले नयाँ प्रधानमन्त्री पाउने
आज देशले नयाँ प्रधानमन्त्री पाउँदैछ । झलनाथ खनाल नेतृत्वको सरकारले साउन २९ गते राष्ट्रिय सहमती निर्माणार्थ राजीनामा दिएपनि आज बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरिदैछ । प्रधानमन्त्री पदका दौडमा एकीकृत नेकपा माओबादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई र काँग्रेस उपसभापति रामचन्द्र पौडल छन् ।
यी दुई उमेदवारलाई कुनै पनि दलले समर्थन गर्ने भनेर औपचारिक निर्णय त गरिसकेका छैनन् तथापी रामचन्द्र पौडेललाई समर्थन गर्ने एमालेले संकेत गरेको छ भने भट्टराईलाई मधेसी मोर्चाले समर्थन गर्ने संकेत गरेपनि आज उसको आधिकारिक निर्णय आउने भएको छ ।
अन्तिम समयमा निर्णय बलल्ने यसअघि देखिएको मोर्चाको इतिहास आज नदोहोरिएला भन्न सकिन्न तर देशले आजै नयाँ प्रधानमन्त्री पाउने भने निश्चित जस्तै छ । एमालेको समर्थन काँग्रेसमा स्पष्ट देखिएकोले र मधेसी मोर्चाले पनि पौडेललाई समर्थन गरे बहुमत पुगी रामचन्द्र प्रधानमन्त्रीमा निर्वाचित हुनेछन् ।
यता मोर्चाको साथ माओबादीलाई यथावत रहिरहे पनि बहुमत पुगी भट्टराई प्रधानमन्त्री बन्ने छन् । चुनावमा तटस्थ वा बहिष्कार गर्न नपाइने भएकाले पनि देशले आजै प्रधानमन्त्री पाउने निश्चित जस्तै भएको हो ।